पर्सा, ९ असार ।
पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ४ निवासी २२ वर्षीय सफिराजा मियाँले आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको घाटी थिची हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।
घटना विवरण
मिति २०८२ असार ७ गते राति करिब १२:४५ बजे मृतक खातुन आफ्नै सुत्ने कोठाभित्र संकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले आवश्यक मुचुल्का लगायतका कार्य सम्पन्न गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज पठाएको छ ।
अनुसन्धानका क्रममा प्रहरीले मृतकका श्रीमान सफिराजा मियाँलाई नियन्त्रणमा लिएको छ । उनलाई पर्सा जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसूरअन्तर्गत ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको पर्सा प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले जानकारी दिए ।
अनुसन्धानका क्रममा खुलेका तथ्यहरू
– श्रीमान–श्रीमतीबीच लामो समयदेखि मनमुटाव थियो
– दम्पतीबीच लामो समयदेखि बोलचाल बन्द थियो
– घटनाको मुख्य कारण रीस–द्वेष रहेको अनुमान
– श्रीमान लामो समयदेखि बाहिर काम गरी घर आउँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने गरेको भन्दै विवाद चुलिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
हाल थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।