एसपी सुदिपराज पाठकको नेतृत्वमा पर्सा प्रहरीले २२ केजी चरेशसहित दुई जनालाई पक्राउ

समाचार

वीरगञ्ज, २४ पुस।
जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी उपरीक्षक सुदिपराज पाठकको नेतृत्वमा लागू औषध नियन्त्रण अभियानअन्तर्गत २२ केजी चरेश जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा मिति २०८२ साल पुस २४ गते बिहान करिब ६:०० बजे पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका वडा नं. २ स्थित गर्दौल चोकभन्दा पूर्व पोखरिया–वीरगञ्ज सडक खण्डमा शंकास्पद रूपमा हिँडडुल गरिरहेका दुई व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्सा मातहत इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा तथा अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनाले बोकेको कालो झोलामाथि चेकजाँच गर्दा भित्र १०–१० लिटर क्षमताका पानीको ग्यालेन फेला पारेको थियो।

ग्यालेनको बिर्को खोली जाँच गर्दा माथिल्लो भागमा थोरै घिउ राखी त्यसको मुनि लुकाइ राखिएको लागू औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका वडा नं. १५ मुर्ली बस्ने २० वर्षीय रैयस अलीले बोकेको ग्यालेनसहित १० किलो ६०० ग्राम चरेश जस्तो देखिने पदार्थ, नगद रु. १,५५० र एक थान किप्याड मोबाइल बरामद गरिएको छ। त्यस्तै, पोखरिया नगरपालिका वडा नं. ८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेलले बोकेको ग्यालेनसहित ११ किलो ४०० ग्राम चरेश जस्तो देखिने पदार्थ तथा नगद रु. २,९०० बरामद गरिएको छ।

यसरी दुबै जनाबाट ग्यालेनसहित जम्मा २२ केजी चरेश जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए।

पक्राउ परेका दुवै व्यक्तिमाथि लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *