प्रहरी महानिरीक्षक कार्की र अतिरिक्त महानिरीक्षक चतुर्बेदीद्वारा देशभरका प्रहरी प्रमुखलाई भर्चुअल निर्देशन

समाचार

काठमाडौं, २५ पुस ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले मातहतका सम्पूर्ण प्रहरी कार्यालय प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा केन्द्रित रहँदै भर्चुअल कन्फरेन्समार्फत निर्देशनात्मक सम्बोधन गर्नुभएको छ।

उक्त भर्चुअल कन्फरेन्समा देशभर कार्यरत जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर, प्रदेश प्रहरी कार्यालय तथा विशेष इकाइका प्रमुखहरूको सहभागिता रहेको थियो। सम्मेलनमा समसामयिक सुरक्षा अवस्था, अपराध नियन्त्रण, लागू औषध कारोबार न्यूनीकरण, सामाजिक सद्भाव कायम राख्ने विषय, शान्ति–सुरक्षा सुदृढीकरण तथा नागरिकमैत्री प्रहरी सेवा प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।

प्रहरी महानिरीक्षक कार्कीले कानूनको समान कार्यान्वयन, व्यावसायिकता, अनुशासन तथा जनउत्तरदायी प्रहरी सेवा प्रवाहमा कुनै पनि प्रकारको लापरवाही स्वीकार्य नहुने स्पष्ट निर्देशन दिनुभयो। उहाँले बदलिँदो सामाजिक परिवेश र चुनौतीहरूलाई मध्यनजर गर्दै सूचना–प्रविधिको अधिकतम प्रयोगमार्फत अपराध रोकथाममा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो।

त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदीले फिल्डस्तरमा कार्यरत प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि, अन्तर–एजेंसी समन्वय तथा संवेदनशील घटनामा संयमित र तथ्यपरक ढंगले कार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सामाजिक सञ्जाल तथा अफवाहबाट उत्पन्न हुनसक्ने असहज अवस्थालाई समयमै नियन्त्रण गर्न सतर्कता अपनाउन निर्देशन दिनुभयो।

भर्चुअल कन्फरेन्समार्फत दिइएको निर्देशनले प्रहरी संगठनलाई थप प्रभावकारी, अनुशासित र नागरिकमैत्री बनाउने विश्वास लिइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *