पर्सा, २७ पुस।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) को एकीकृत भर्ना प्रक्रिया पर्सामा सुरु गरिएको छ। निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समिति, पर्साले मिति २०८२।०९।२४ गते सूचना जारी गर्दै कुल २८५२ जना निर्वाचन प्रहरी भर्ना गर्ने जनाएको हो।
सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी तथा डिएसपी मोहन निरौलाका अनुसार “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि–२०८२” बमोजिम योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ।
दरखास्त दिने मिति र स्थान
दरखास्त २०८२।०९।२५ देखि २०८२।१०।०१ गतेसम्म बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म (सार्वजनिक बिदाका दिन समेत)
जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगञ्ज
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा
बाट फाराम लिई बुझाउन सकिनेछ।
योग्यता र मापदण्ड
नेपाली नागरिक हुनुपर्ने
साधारण लेखपढ गर्न जान्ने
दरखास्त दर्ताको अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको
नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको
कुनै राजनीतिक दलको सदस्य नरहेको
शारीरिक तथा मानसिक रूपमा स्वस्थ
आतंककारी वा विध्वंसात्मक संगठनसँग सम्बन्ध नरहेको
शारीरिक मापदण्ड:
पुरुष: उचाइ न्यूनतम ५ फिट, छाती ३१–३३ इन्च, तौल ५० केजी
महिला: उचाइ न्यूनतम ४ फिट १० इन्च, तौल ४२ केजी
(महिलाको हकमा गर्भवती नभएको हुनुपर्ने)
छनौट, नतिजा र तालिम
सम्पर्क मिति: २०८२।१०।०४ गते बिहान ११ बजे
छनौट प्रक्रिया: २०८२।१०।०५ देखि २०८२।१०।०९ गतेसम्म
अन्तिम नतिजा: २०८२।१०।१२ गते
तालिम अवधि: २०८२।१०।१५ देखि २०८२।१०।२४ गतेसम्म
प्राथमिकता
पूर्व नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका निवृत्त सुरक्षाकर्मी, अघिल्ला निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक कार्य गरेका व्यक्ति, तथा विदेशी मित्रराष्ट्रका सुरक्षा निकायमा सेवा गरी निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइनेछ।
सेवा सुविधा
निर्वाचन प्रहरीलाई ४० दिनका लागि प्रतिदिन रु. ८६९।४० का दरले पारिश्रमिक प्रदान गरिनेछ। साथै खाद्यान्न खर्च, एकमुष्ट तयारी खर्च, खाजा खर्च, पोशाक भत्ता लगायतका सुविधा उपलब्ध गराइनेछ। सम्पूर्ण भुक्तानी व्यक्तिगत बैंक खातामार्फत गरिनेछ। कर्तव्य पालनाका क्रममा घाइते वा मृत्यु भएमा नेपाल सरकारको व्यवस्था अनुसार क्षतिपूर्ति उपलब्ध गराइनेछ।
आवश्यकता अनुसार छनौट भएका उम्मेदवारलाई नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालतर्फ खटाइने जनाइएको छ। भर्ना सम्बन्धी अन्य विवरण कार्यविधि–२०८२ अनुसार लागू हुने सूचनामा उल्लेख गरिएको छ।
