बारा, २६ पुस।
सशस्त्र प्रहरी बल नेपाल, बारा जिल्लाले सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसिको नेतृत्वमा सीमा क्षेत्रमा तस्करी तथा अवैध ओसारपसार नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। अभियानकै क्रममा विभिन्न सीमा इलाकाबाट ठूलो परिमाणमा अवैध सामान तथा माछा बरामद गरिएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार मिति २०८२/०९/२४ र २५ गते जिल्लाका विभिन्न सीमा नाकाहरूमा खटिएको टोलीले भारतबाट भन्सार छली अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका सामानहरू नियन्त्रणमा लिएको हो। बरामद गरिएको अवैध सामानको कुल अनुमानित मूल्य रु. ५ लाख ३ हजारभन्दा बढी रहेको छ।
पहिलो घटना
मिति २०८२/०९/२४ गते दिउँसो १२:१० बजे कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा सीमा इलाकामा सीमा सुरक्षा गुल्म हे.क्वा. मटिअर्वाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक धनबहादुर राना मगरको नेतृत्वमा रहेको ५ जनाको टोलीले भारतबाट भन्सार छली नेपालतर्फ ल्याइँदै गरेको अवैध सामान बरामद गरेको हो।
५ जना व्यक्तिले टाउकोमा बोकी ल्याउँदै गरेको अन्दाजी रु. १,७५,००० बराबरको किराना सामान तथा जुत्ता सशस्त्र प्रहरी देखेपछि सोही स्थानमा छाडी फरार भएका थिए। फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको जनाइएको छ।
दोस्रो घटना
सोही दिन दिउँसो १३:१० बजे सिम्रौनगढ नगरपालिका–०७ सतुवाही सीमा इलाकामा वि.ओ.पि. गोलागंजबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुदर्शन लामाको नेतृत्वमा खटिएको टोलीले भारतबाट मोटरसाइकल प्रयोग गरी अवैध रूपमा ल्याइँदै गरेको माछा नियन्त्रणमा लिएको छ।
टोलीले ६० के.जी. माछा (अन्दाजी मूल्य रु. १८,०००) र प्रयोग गरिएको मोटरसाइकलसहित जम्मा अन्दाजी मूल्य रु. १,६८,००० बराबरको सामान बरामद गरेको हो।
तेस्रो घटना
मिति २०८२/०९/२४ गते बिहान ११:५० बजे सिम्रौनगढ नगरपालिका–०९ बसबरीया सीमा इलाकामा वि.ओ.पि. गोलागंज, बाराबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा छाडिएको अवैध माछा बरामद गरेको छ।
भारतबाट अवैध रूपमा नेपाल ल्याई छाडिएको ८ कार्टुन बचुवा माछा (अन्दाजी ४५० के.जी.) को अनुमानित मूल्य रु. १,२५,००० रहेको छ। उक्त माछा वि.ओ.पि. गोलागंजमा ल्याई पशु क्वारेन्टाइन कार्यालय मटिअर्वासँग समन्वय गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
चौथो घटना
मिति २०८२/०९/२५ गते बिहान १०:४० बजे विश्रामपुर गाउँपालिका–३ मुसहर्वा सीमा इलाकामा बि.ओ.पि. बरैनियाबाट सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष प्रसाद साहको नेतृत्वमा खटिएको टोलीले एक व्यक्तिले साइकलमा बोकी ल्याउँदै गरेको अवैध किराना सामान नियन्त्रणमा लिएको छ।
अन्दाजी मूल्य रु. ३५,३१० बराबरको उक्त सामान सशस्त्र प्रहरी देखेपछि सम्बन्धित व्यक्ति सामान छाडी साइकलसहित फरार भएको जनाइएको छ।
बरामद गरिएका सबै अवैध सामान सम्बन्धित भन्सार कार्यालयमा बुझाइसकिएको सशस्त्र प्रहरी बल नेपाल, बारा जिल्लाले जानकारी दिएको छ।
एसपी खुमबहादुर केसिको नेतृत्वमा सीमा सुरक्षालाई थप मजबुत बनाउँदै तस्करी, अवैध ओसारपसार तथा सीमा अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले निरन्तर कडाइका साथ निगरानी र गस्ती जारी राख्ने जनाएको छ।
