पर्सा,२६ पुस।
सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा “२५औँ सशस्त्र प्रहरी दिवस २०८२” को अवसरमा सीमावासी समुदायलाई लक्षित गरी नि:शुल्क आँखा शिविर सञ्चालन गरिएको छ।
मिति २०८२।०९।२५ गते, जिल्ला पर्सा छिपहरमाई गाउँपालिका–२ भेडीहर्वा स्थित श्री रामाज्ञा साह प्राथमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिएको उक्त शिविर “सीमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको हो।
सीमावासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको आँखा शिविर तिलगंगा आँखा प्रतिष्ठान, काठमाडौं, वीरगञ्ज सामुदायिक आँखा अस्पताल तथा लक्ष्मी सनराइज बैंक, वीरगञ्जको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको आयोजनामा सम्पन्न भएको हो।
शिविरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। कार्यक्रममा सीमा सुरक्षा गुल्म हे.क्वा. लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, छिपहरमाई गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष कामेश्वर प्रसाद यादव, वडा नं. २ का वडा अध्यक्ष महेन्द्र साह कलवार लगायत स्थानीय जनप्रतिनिधि तथा समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त नि:शुल्क आँखा शिविरबाट कुल १७२ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्, जसमा महिला ९१ जना र पुरुष ८१ जना रहेका छन्।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार, आगामी दिनमा पनि समुदायसँग सहकार्य गर्दै यस्ता सामाजिक तथा जनसेवामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।
