पर्सा,२८ पुस।
सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको सात कार्यदिनको “केश कर्तक (हेयर कटिङ) तालिम” आज मिति २०८२।०९।२७ गते सफलतापूर्वक समापन भएको छ।
मिति २०८२।०९।२० गतेदेखि जिल्ला पर्सा, पकाहाँमैनपुर गाउँपालिका वडा नं. ०४ लहावरथकरीस्थित सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. लहावरथकरीमा सञ्चालन भएको उक्त तालिम सीमावर्ती क्षेत्रका स्थानीयलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले आयोजना गरिएको हो।
तालिम समापन कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा सीमा सुरक्षा गुल्म लहावरथकरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, पकाहाँमैनपुर गाउँपालिका वडा नं. ०४ र ०५ का वडाध्यक्ष तथा वडा सदस्यहरू, सीमा सहजीकरण समिति लहावरथकरी–४ का सदस्यहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
तालिममा पकाहाँमैनपुर गाउँपालिका वडा नं. ०४ का १५ जना स्थानीय प्रशिक्षार्थीहरू सहभागी रहेका थिए। तालिम समापन पश्चात पकाहाँमैनपुर गाउँपालिकासँगको सहकार्यमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा प्रत्येकलाई एक–एक सेट कपाल काट्ने सामग्री प्रदान गरिएको थियो।
यस कार्यक्रमले सीमावर्ती क्षेत्रका युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउनुका साथै सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

उक्त जानकारी सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले दिनुभएको हो।
