पर्सामा ७ हजार ५ सय गाँजा र अफिमका बोट फडानी तथा नष्ट, प्रहरीको अभियान तीव्र

समाचार

रसीद आलम
पर्सा, फागुन ३।पर्सा जिल्लाको पटेर्वासुगौली गाउँपालिका क्षेत्रमा अवैध रूपमा लगाइएको गाँजा तथा अफिमको बोट व्यापक रूपमा फडानी गरी नष्ट गरिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवैध लागुऔषध खेती नियन्त्रण अभियान अन्तर्गत प्रहरीले ठूलो परिमाणमा गाँजा र अफिमका बोट नष्ट गरेको हो।

प्राप्त सूचनाका आधारमा फागुन २ गते दिउँसो करिब ३ः४० बजे पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ फरदवा स्थित आधारभूत अस्पताल नजिक ऐलानी जग्गामा अफिम र गाँजाको अवैध खेती भइरहेको भन्ने जानकारी प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनालाई गम्भीरतापूर्वक लिँदै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २५ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले उक्त स्थानमा पुगेर विभिन्न ऐलानी जग्गामा लगाइएको लागुऔषधजन्य बोटहरू फेला पारेको थियो। प्रहरीका अनुसार वडा नं. ४ फरदवा स्थित आधारभूत अस्पताल नजिक रहेको करिब ३.५ कठ्ठा ऐलानी जग्गामा करिब २ हजार ५ सय बोट अफिम फेला परेको थियो। त्यसैगरी सोही क्षेत्र नजिकै रहेको करिब ५ कठ्ठा ऐलानी जग्गामा करिब २ हजार बोट गाँजा तथा वडा नं. ५ देउरिया गाउँभन्दा पूर्वपट्टि रहेको अर्को करिब ५ कठ्ठा ऐलानी जग्गामा करिब ३ हजार बोट गाँजा खेती गरिएको अवस्थामा भेटिएको थियो।

यसरी तीन वटा फरक स्थानमा जम्मा करिब १३.५ कठ्ठा ऐलानी जग्गामा लगाइएको कुल ५ हजार बोट गाँजा र २ हजार ५ सय बोट अफिम फेला पारेर प्रहरीले सबै बोटहरू फडानी गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रहरीका अनुसार अवैध लागुऔषध खेती नियन्त्रणका लागि जिल्लाभर निगरानी बढाइएको छ। विशेषगरी ऐलानी तथा सुनसान क्षेत्रमा लुकिछिपी गाँजा र अफिम खेती गर्ने प्रवृत्ति देखिएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न नियमित रूपमा प्रहरी परिचालन गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध उत्पादन, ओसारपसार तथा बिक्री वितरण जस्ता अवैध गतिविधिविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको जनाएको छ। साथै यस्ता अवैध खेती गर्ने व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने पनि प्रहरीले स्पष्ट पारेको छ।

प्रहरीले समुदायलाई पनि लागुऔषध नियन्त्रण अभियानमा सहयोग गर्न आग्रह गर्दै आफ्नो वरपर यस्ता अवैध गतिविधि भएको जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त खबर गर्न अनुरोध गरेको छ।

हाल जिल्लामा लागुऔषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा समेत निरन्तर रूपमा यस्ता अवैध खेती फडानी तथा नष्ट गर्ने अभियान जारी रहने प्रहरीको भनाइ छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *