पर्सा, २ फागुन।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा निर्वाचन विरोधी गतिविधिमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मिति २०८२ फागुन १ गते वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ भन्सार क्षेत्रमा बसोबास गर्ने अन्दाजी २० वर्षीय बिधान पुलामी मगर रहेका छन्। उनलाई घटनास्थलबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका मगरमाथि निर्वाचन आचारसंहिता विपरीत गतिविधिमा संलग्न भएको आशंकामा अनुसन्धान भइरहेको छ।
प्रहरीले निर्वाचनको स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरण कायम राख्न यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई कानुनी दायरामा ल्याइने चेतावनी दिएको छ। साथै, निर्वाचनलाई प्रभावित पार्ने कुनै पनि अवैध गतिविधि नगर्न सबैलाई आग्रह गरिएको छ।
