पोखरा, २ फागुन । कास्की जिल्लाको पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक शुक्रबार मध्यराति फेवातालमा खसेको कार सशस्त्र प्रहरीले सफलतापूर्वक तालबाट बाहिर निकालेको छ।
शुक्रबार राति अनियन्त्रित भई फेवातालमा खसेको उक्त कारको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट खटिएको विशेष उद्धार टोली घटनास्थल पुगेको थियो। टोलीले आवश्यक सुरक्षा सावधानी अपनाउँदै उद्धार उपकरणको प्रयोग गरी तालभित्र डुबेको कारलाई बाहिर निकाल्न सफल भएको हो।
प्रारम्भिक जानकारीअनुसार कार तालमा खसेपछि स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा उद्धार कार्य सञ्चालन गरिएको थियो। कारमा सवार व्यक्तिहरूको अवस्था र कार तालमा खस्नुको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ।
सशस्त्र प्रहरी बलले जोखिमपूर्ण अवस्थामा समेत तीव्र रूपमा उद्धार कार्य सम्पन्न गर्दै सम्भावित थप क्षति हुनबाट जोगाएको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
