वीरगञ्ज, फागुन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नन्दु श्रीवास्तवले बिर्ता माताको आशीर्वाद लिएर मंगलबार वीरगञ्ज महानगरपालिका–४ (बिर्ता–४) मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो अभियानमा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थनको अपिल गरिएको थियो। राप्रपाको चुनाव चिन्ह ‘हल’मा मतदान गरी विजयी गराउन मतदातासँग आग्रह गरिएको छ।
यसै क्रममा राप्रपा पर्साद्वारा बिर्ता–४ मा पार्टी प्रवेश तथा बुथ कमिटी गठन कार्यक्रम पनि सम्पन्न भएको छ। कार्यक्रम इन्द्र मानन्धरको अध्यक्षता तथा पूर्व मन्त्री राजीव पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का पूर्व वडा सदस्य राजकुमारी देवी, सरस्वती देवी लगायत सयौं स्थानीय युवा तथा विभिन्न क्षेत्रका व्यक्तिहरू राप्रपामा प्रवेश गरेका छन्।
नवप्रवेशीलाई स्वागत गर्दै उम्मेदवार श्रीवास्तवले राप्रपामा जोडिनु भएका सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै जनताको अपेक्षा अनुसार विकास, सुशासन र समृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताए।
कार्यक्रमकै अवसरमा बिर्ता–४ मा दुई वटा बुथ कमिटी गठन गरिएको छ। बुथ नम्बर १ को अध्यक्षमा इन्द्र मानन्धर सहित ७ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ भने बुथ नम्बर २ को अध्यक्षमा बैधनाथ प्रसाद गुप्ता सहित ७ सदस्यीय समिति गठन गरिएको छ।
राप्रपाले निर्वाचन नजिकिँदै जाँदा संगठन विस्तार, जनसम्पर्क सुदृढीकरण तथा मतदातासँग प्रत्यक्ष संवादलाई तीव्रता दिएको जनाएको छ।
