सर्लाही, १ चैत । सर्लाहीमा प्रहरीले १० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिति २०८२ फागुन २८ गते राति करिब ११ बजे प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका–१२ पत्थरकोटदेखि जियाजोर आउने–जाने सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुको चेकजाँच गर्ने क्रममा एक युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–११ बाहुनी टोल बस्ने लालबहादुर तामाङका २१ वर्षीय छोरा सोम तामाङ रहेका छन्। उनी बा ४७ प ८६६४ नम्बरको मोटरसाइकलमा उत्तर मोटर दोभानबाट जियाजोरतर्फ जाँदै गरेका थिए।
प्रहरीले मोटरसाइकल रोकी जाँच गर्दा पछाडिको सिटमा बाँधेर ल्याएको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १० किलो ४१४ ग्राम गाँजा (प्लास्टिकसहित) फेला परेको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित तामाङलाई तत्काल पक्राउ गरी लागुऔषध गाँजा सम्बन्धी मुद्दा दर्ता गरिएको छ। सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिएर इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यस सम्बन्धमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सरोज राईले लागुऔषध नियन्त्रणका लागि चेकजाँचलाई अझ कडाइ गरिने बताए।
