जितपुर सिमराका वडा अध्यक्ष खरेलमाथि जग्गा अतिक्रमणको आरोप, आरोप निराधार भएको दाबी

समाचार

बारा, १७ चैत — बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६ का वडा अध्यक्ष हरिदेव खरेलमाथि निजी जग्गा अतिक्रमण गरी बाटो निकालिएको आरोप लागेको छ। सो आरोपलाई वडा अध्यक्ष खरेलले निराधार बताउँदै आफ्नो चरित्र हत्या गर्न खोजिएको प्रतिक्रिया दिएका छन्।

जग्गाधनी दिलिप सिंह लामा (जितपुर सिमरा–१) का अनुसार वडा अध्यक्ष खरेलले आफ्नो पदको दुरुपयोग गर्दै वडा नं. १६ मा पर्ने कित्ता नम्बर ५४४ को करिब १० धुर निजी जग्गा अतिक्रमण गरी जबर्जस्ती बाटो निकालेका हुन्। लामाका अनुसार उक्त बाटो खरेलसँग सम्बन्धित बोर्डिङ स्कुल सञ्चालनका लागि प्रयोग गरिएको आरोप छ।

लामाकी श्रीमतीले पनि सोही स्थानमा वन क्षेत्रको जग्गा अतिक्रमण गरी विद्यालय सञ्चालन गरिएको दाबी गर्दै उक्त विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत अनुसन्धान भइरहेको बताएकी छन्। उनले सम्बन्धित निकायमा उजुरी दिएको र न्याय पाउने विश्वास व्यक्त गरिन्।

यसैबीच, वडा अध्यक्ष खरेलले फोनमार्फत प्रतिक्रिया दिँदै आफूमाथि लगाइएका सबै आरोप असत्य र मनगढन्ते भएको बताएका छन्। “मलाई बदनाम गर्ने उद्देश्यले यस्तो आरोप लगाइएको हो, कानुनभन्दा माथि कोही हुँदैन। यदि दोषी प्रमाणित भएमा म सजाय भोग्न तयार छु,” उनले भने।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *