पुर्व प्रधानमन्त्री ओलीको बयान सार्वजनिक, महेश बस्नेतद्वारा सामाजिक सञ्जालमार्फत् साझा

समाचार

काठमाडौँ,२२ चैत  । जेनजी आन्दोलनका क्रममा भएको दमन तथा गोलीकाण्ड सम्बन्धी कार्की प्रतिवेदनका आधारमा पक्राउ परेका पूर्व प्रधानमन्त्री के पी शर्मा ओली ले अदालतमा दिएको बयान सार्वजनिक भएको छ। उक्त बयानलाई एमाले नेता महेश बस्नेतले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन्।

सार्वजनिक गरिएको बयानअनुसार पूर्व प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै घटनामा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको बताएका छन्। “प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने हुँदैन, त्यसैले मेरो कुनै दोष छैन,” भन्ने उनको भनाइ उद्धृत गरिएको छ।

ओलीले आपतकालीन अवस्थाका बेला सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको दाबी गरेका छन्। “समन्वयको अभावकै कारण परिस्थिति जटिल बन्दै गयो र अन्ततः राजीनामा दिनुपर्ने अवस्था आयो,” उनले बयानमा उल्लेख गरेका छन्।

भीडमा भएको मानवीय क्षतिप्रति आफू आश्चर्यचकित भएको उल्लेख गर्दै उनले घटनाको कारणबारे गम्भीर छानबिन हुनुपर्ने बताएका छन्। “मानिसको मृत्यु भएको खबरले म स्तब्ध भएँ। किन र कसरी यस्तो भयो भन्ने विषयमा गम्भीर प्रश्न उठेको छ,” बयानमा भनिएको छ।
त्यस्तै, उनले शान्तिपूर्ण भनिएको आन्दोलनका क्रममा निषेधाज्ञा उल्लंघन हुनु र त्यसबाट उत्पन्न द्वन्द्वबारे पनि अनुसन्धान आवश्यक रहेको बताएका छन्। घटनाप्रति दुःख व्यक्त गर्दै उनले दोषी जोसुकै भए पनि उम्किन नदिनुपर्नेमा जोड दिएका छन्।

ओलीले आन्दोलनका क्रममा राज्यको सम्पत्ति जलाउने, भीड उत्तेजित पार्ने लगायतका गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निष्पक्ष कारबाही हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

बयानको अन्त्यमा उनले राष्ट्रको हितमा काम गर्दा विभिन्न स्वार्थ समूहबाट अनावश्यक आरोप खेप्नुपरेको उल्लेख गरेका छन्।

कार्की प्रतिवेदन सार्वजनिक भएसँगै उक्त घटनासम्बन्धी अनुसन्धान तथा राजनीतिक बहस तीव्र बनेको  छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *