सर्लाही, २४ चैत ।
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रहरी कर्मचारीमध्ये उत्कृष्ट कार्यसम्पादन गरेका एक प्रहरी अधिकृतलाई नगद पुरस्कारद्वारा सम्मान गरिएको छ।
निर्वाचनको अवधिमा खटिएका प्रहरी कर्मचारीहरूलाई आन्तरिक तथा बाह्य तालिम प्रदान गर्ने जिम्मेवारी बहन गर्दै उच्च व्यावसायिकता, लगनशीलता र कर्तव्यनिष्ठताका साथ शान्ति सुरक्षा कायम गर्न योगदान पुर्याएको मूल्याङ्कन गर्दै सर्लाही प्रहरीले प्रहरी नायब निरीक्षक अजय कुमार रामलाई नगद पुरस्कार प्रदान गरेको जनाएको छ।
प्रहरी नियमावली २०७१ (संशोधन सहित) को परिच्छेद १५ अन्तर्गत नियम १९७ को (ग) बमोजिम मिति २०८२ चैत १८ गते गरिएको निर्णयअनुसार उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
यस प्रकारको सम्मानले संगठनभित्र सकारात्मक प्रभाव पार्दै अन्य कर्मचारीहरूलाई समेत थप उत्साहित बनाउने विश्वास गरिएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय केशरगञ्ज, सर्लाहीले जारी गरेको पत्रअनुसार हाल सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक रामलाई एक हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको हो।
