लागूऔषध संजालविरुद्ध पर्सा प्रहरीको ठुलो कारबाही, गाँजासहित दुई जना पक्राउ

समाचार

वीरगञ्ज, २४ चैत ।
पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ठुलो सफलता हासिल गर्दै ५ किलो २०० ग्राम गाँजा जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको टोलीले विशेष सूचनाको आधारमा उक्त कारबाही गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको निर्देशनमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै सञ्चालन गरिएको अपरेसनमा उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार २०८२ चैत २३ गते बिहान करिब ७ बजे सखुवाप्रसौनी गाउँपालिका–५ महुवन बजारस्थित सडकखण्डमा शंका लागी जाँच गर्दा सखुवाप्रसौनी–५ निवासी ३१ वर्षीय मोहिचन यादव र पर्सागढी नगरपालिका–९ निवासी ४० वर्षीय बैजनाथ यादवलाई नियन्त्रणमा लिइएको थियो।

उनीहरूको शरीर खानतलासी गर्दा पेट र पिठ्युँमा सेतो टेपले टाँसी रातो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ५ किलो २०० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *