पर्सा, चैत २३ ।नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साले लेखापढी व्यवसायीहरूमाथि भइरहेको धरपकडको विरोध गर्दै अनिश्चितकालीन ‘पेन डाउन’ आन्दोलन घोषणा गरेको छ।
एसोसिएसनको जिल्ला कार्य समिति वीरगञ्ज, पर्साको मिति २०८२ चैत २२ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। एसोसिएसनले जारी गरेको सूचनामा विभिन्न कार्यसमिति अन्तर्गत कार्यरत लेखापढी व्यवसायीहरूलाई बिना कारण सम्बन्धित कार्यालय परिसरभित्र तथा बाहिरबाट समेत पक्राउ गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।
सूचनामा नेपाल सरकारको प्रचलित नियमअनुसार भू–सेवा केन्द्र सञ्चालन अनुमति लिई धरौटी बुझाएर कार्य सञ्चालन गरिरहेका व्यवसायीहरूलाई विभिन्न बहानामा धरपकड गरिएको भन्दै उक्त कार्यको घोर निन्दा गरिएको उल्लेख छ। साथै, विभिन्न जिल्लाबाट पक्राउ परेका व्यवसायीहरूको निशर्त रिहाइको माग समेत गरिएको छ।
एसोसिएसनले मिति २०८२ चैत २३ गते बिहान ९:०० बजेदेखि अर्को निर्णय नभएसम्मका लागि अनिश्चितकालीन ‘पेन डाउन’ आन्दोलन गर्ने निर्णय गरेको जनाएको छ। उक्त आन्दोलनमा सम्पूर्ण भू–सेवा केन्द्र तथा लेखापढी व्यवसायीहरूलाई एकबद्धता जनाउन अनुरोध गरिएको छ।
यसैबीच, आन्दोलनका कारण भूमिसुधार तथा मालपोत कार्यालय र नापी कार्यालयमार्फत प्रवाह हुने सेवामा अवरोध हुन सक्ने जनाउँदै सेवाग्राहीमा पर्न जाने असुविधाप्रति एसोसिएसनले क्षमायाचना गरेको छ।
