बारा, १९ असार।
सशस्त्र प्रहरी बल, नेपाल बाराले सीमा क्षेत्रमा हुने अवैध तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै एकै दिन १२ लाख ५२ हजार ४ सय रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी विशाल सिलवालको नेतृत्वमा सीमा क्षेत्रमा निगरानी कडा बनाइएपछि तस्करीका गतिविधिमाथि लगातार कारबाही भइरहेको हो।
सशस्त्र प्रहरीका अनुसार शुक्रबार गरिएको दुई छुट्टाछुट्टै कारबाहीमा ३ वटा मोटरसाइकलसहित ठूलो परिमाणमा विभिन्न अवैध सामान नियन्त्रणमा लिइएको हो। बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइने जनाइएको छ।
पहिलो घटनामा सशस्त्र प्रहरी बल, नेपाल बिओपी बरैनियाबाट खटिएको टोलीले बाराको सीमावर्ती क्षेत्रमा विशेष निगरानीका क्रममा अवैध रूपमा नेपालतर्फ भित्र्याइँदै गरेका ३ वटा मोटरसाइकल तथा विभिन्न सामान बरामद गरेको थियो। उक्त सामानको अनुमानित मूल्य ९ लाख ६४ हजार ४ सय रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
यसैगरी, अर्को कारबाहीमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वाबाट परिचालित टोलीले सीमावर्ती क्षेत्रबाट मोटरसाइकल तथा विभिन्न किसिमका किराना सामग्री बरामद गरेको छ। उक्त सामानको अनुमानित मूल्य २ लाख ८८ हजार रुपैयाँ रहेको बताइएको छ।
दुवै कारबाहीमा तस्करहरू प्रहरी टोलीलाई देख्नासाथ सामान छाडेर फरार भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। फरार व्यक्तिहरूको पहिचान तथा संलग्न सञ्जालबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
बारा जिल्लाको भारतसँग जोडिएको खुला सीमाको दुरुपयोग गर्दै विभिन्न सामान अवैध रूपमा ओसारपसार गर्ने प्रयास बढ्दै गएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती, चेकजाँच र निगरानीलाई थप सशक्त बनाएको छ। पछिल्ला दिनहरूमा लगातार अवैध सामान बरामद हुनुले सीमा क्षेत्रमा सुरक्षा निगरानी प्रभावकारी बन्दै गएको देखिएको छ।
सशस्त्र प्रहरी बल बाराका प्रमुख एसपी विशाल सिलवालले तस्करी नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको बताउँदै सीमा क्षेत्रबाट हुने अवैध गतिविधिविरुद्ध कुनै पनि प्रकारको सम्झौता नगरी अभियानलाई अझ तीव्र बनाइने स्पष्ट पारेका छन्। सीमावर्ती क्षेत्रमा २४सै घण्टा गस्ती, सूचना संकलन तथा आकस्मिक चेकजाँचलाई निरन्तरता दिइएको उनले बताएका छन्।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका स्थानीयवासीलाई पनि अवैध ओसारपसारमा संलग्न नहुन तथा यस्ता गतिविधिबारे जानकारी भए तत्काल सुरक्षा निकायलाई सूचना दिन आग्रह गरेको छ।
