वीरगञ्ज, २ साउन। लगातार तीन दिनदेखि ३३ केभी प्रसारण लाइनमा आएको प्राविधिक अवरोधका कारण अन्धकारमा डुबेको वीरगञ्जको विद्युत् आपूर्ति नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रले अथक प्रयासपछि शुक्रबार राती पुनः सुचारु गरेको छ।
वीरगञ्ज वितरण केन्द्रका प्रमुख विजय महतोको नेतृत्वमा प्राविधिक टोलीले निरन्तर तीन दिन र तीन रात जोखिम मोलेर काम गरेपछि विद्युत् सेवा पुनः सञ्चालनमा आएको हो। अविरल वर्षा, जटिल प्राविधिक समस्या तथा प्रतिकूल मौसमका बाबजुद कर्मचारीहरू चौबीसै घण्टा फिल्डमा खटिएर मर्मत कार्य सम्पन्न गरेका थिए।
प्राधिकरणका अनुसार छपकैया ३३ केभी लाइनको एकमात्र विकल्प रहेको भूमिगत (अण्डरग्राउण्ड) केबलमा अचानक फल्ट देखिएपछि तत्काल उच्च व्यवस्थापनको सहयोगमा Fault Locator Megger Testing Van रातारात वीरगञ्ज ल्याइएको थियो। रातभर परीक्षण गर्दा सुरुमा फल्टको स्थान पहिचान हुन नसकेपछि छपकैया सबस्टेशनबाट सञ्चालित अस्पताल, बिर्तामाई, नगवा, छपकैया र बलिरामपुर फिडरमध्ये बलिरामपुर, छपकैया र नगवा फिडरको विद्युत् आपूर्ति अवरुद्ध भएको थियो।
पछि अर्को रात सबै प्रभावित फिडरमा वैकल्पिक विद्युत् आपूर्तिको व्यवस्था मिलाइएको थियो। लगातार तीन दिनको खोजीपछि नगवा पोखरी नजिक भूमिगत केबलको वास्तविक फल्ट पत्ता लागेपछि निर्माणाधीन पर्सौनी–छपकैया ३३ केभी ओभरहेड लाइनको सहायताले मुख्य लाइन नकटाई मर्मत कार्य अघि बढाइएको प्राधिकरणले जनाएको छ।
यस अवधिमा नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली, निर्माण व्यवसायी तथा स्थानीय उपभोक्ताको सहकार्यमा प्रतिकूल मौसमबीच पनि पर्सौनी–छपकैया ३३ केभी ओभरहेड लाइन दुई दिनभित्र निर्माण सम्पन्न गरी सफलतापूर्वक चार्ज गरिएको थियो। प्राधिकरणले यो लाइन भविष्यमा वीरगञ्जको भरपर्दो तथा गुणस्तरीय विद्युत् आपूर्तिका लागि महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेको छ।
विद्युत् अवरोधका कारण वीरगञ्ज महानगरपालिकाका वडा नं. १, २, १६, छपकैया, इनर्वा, नगवा लगायतका क्षेत्र तथा बारा जिल्लाको बलिरामपुर र मुशहरवा क्षेत्रमा करिब ७२ घण्टासम्म विद्युत् सेवा प्रभावित भएको थियो। यसले घरपरिवारसँगै उद्योग, व्यापार, अस्पताल, शैक्षिक संस्था तथा सेवा क्षेत्रसमेत प्रभावित बनेका थिए।
बिजुली नहुँदा डिप बोरिङ सञ्चालन हुन नसकेपछि धेरै स्थानमा खानेपानीको समेत चरम अभाव सिर्जना भएको थियो। अत्यधिक गर्मी र रातको अन्धकारले नागरिकलाई थप सास्ती बेहोर्नुपरेको स्थानीयले बताएका छन्।
वितरण केन्द्र प्रमुख विजय महतोले निरन्तर वर्षा र जटिल प्राविधिक समस्याका कारण मर्मतमा समय लागे पनि सम्पूर्ण प्राविधिक कर्मचारीले जोखिम मोलेर निरन्तर काम गरेको बताए। उनले सेवा पुनः सञ्चालनलाई पहिलो प्राथमिकतामा राखेर टोली परिचालन गरिएको उल्लेख गरे।
यसैबीच प्राधिकरणले स्थानीय प्रशासन, ग्राहकवर्ग, सञ्चारकर्मी, निर्माण व्यवसायी, उच्च व्यवस्थापन तथा धैर्यपूर्वक साथ दिएका सम्पूर्ण उपभोक्ताप्रति आभार व्यक्त गरेको छ।
यद्यपि स्थानीयवासीले यस्तो समस्या पुनः नदोहोरियोस् भन्ने अपेक्षासहित विद्युत् पूर्वाधारको दीर्घकालीन स्तरोन्नति, नियमित मर्मतसम्भार तथा आकस्मिक व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन माग गरेका छन्।
