वीरगन्ज, २ साउन । मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद् र त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि वीरगन्ज महानगरपालिकाले उच्च सतर्कता अपनाएको छ। शनिबार कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको नगर विपद् व्यवस्थापन मूल समितिको आकस्मिक बैठकले पूर्वतयारीलाई प्रभावकारी बनाउने चारवटा महत्त्वपूर्ण निर्णय गरेको हो।
कार्यवाहक प्रमुखको सचिवालयमा सम्पन्न बैठकले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत–साधन तयारी अवस्थामा राख्ने, मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रणालीसँग निरन्तर समन्वय गर्ने, प्रभावित क्षेत्रको तत्काल अनुगमन गर्ने र स्वास्थ्य सेवा सुदृढ बनाउने निर्णय गरेको छ।
बैठकले महानगरभित्र केही स्थानमा मनसुनका कारण समस्या देखिन थालेको भन्दै तत्काल अनुगमन टोली परिचालन गर्ने निर्णय गरेको छ। उक्त टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी तत्काल समस्या समाधानका उपाय अवलम्बन गर्ने, सम्भावित जोखिमको आकलन गर्ने तथा आवश्यक राहत वितरणका लागि पूर्वतयारी गर्नेछ।
विपद्का बेला स्वास्थ्य क्षेत्रमा आउन सक्ने चुनौतीलाई ध्यानमा राख्दै आवश्यक औषधि, स्वास्थ्य सामग्री तथा सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउने निर्णय पनि गरिएको छ। साथै सबै स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न र आवश्यक निर्देशन जारी गर्न सम्बन्धित निकायलाई पत्राचार गरिने भएको छ।
त्यसैगरी, सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरका सबै वडा कार्यालयलाई पूर्ण तयारी अवस्थामा रहन निर्देशनसहित तत्काल पत्राचार गर्ने निर्णय गरिएको छ। बैठकले विपद् व्यवस्थापनका सबै संयन्त्रलाई सक्रिय बनाउँदै मनसुनजन्य जोखिम न्यूनीकरणमा समन्वित रूपमा परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
बैठकमा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहरा, अवधेश प्रसाद कुशवाहा, हरिशंकर प्रसाद कुर्मी, राकेश साह, विभा मिश्रा, सफुदिन मिया, हरिप्रसाद भुसाल तथा स्वास्थ्य शाखा प्रमुख राजु प्रसाद साहलगायतको उपस्थिति रहेको थियो।
वीरगन्ज महानगरपालिकाले मनसुनजन्य प्रकोपबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्दै नगरवासीको सुरक्षा सुनिश्चित गर्न सम्पूर्ण संयन्त्रलाई तयारी अवस्थामा राखिएको जनाएको छ।
