दाङ, साउन १५।दाङ जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाइछिपाइ राखिएका २१ नाल अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मिति २०८३ साउन १४ गते विशेष सूचनाका आधारमा विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले जंगलका झाडीमा लुकाइराखिएका अवैध भरुवा बन्दुकहरू फेला पारी बरामद गरेको हो। साथै बन्दुकमा प्रयोग हुने फलामका ४ वटा छर्रा (गोली) समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
अस्थायी प्रहरी पोस्ट बेलुवा दाङबाट खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा सामुदायिक वनको झाडीबाट १ नाल एकनाले भरुवा बन्दुक र ४ वटा फलामका छर्रा बरामद गरेको छ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–३ स्थित जनचेतना सामुदायिक वनबाट ४ नाल तथा बंगलाचुली–६ स्थित लालिगुराँस सामुदायिक वनबाट ८ नाल भरुवा बन्दुक बरामद गरेको छ। यस क्षेत्रबाट मात्रै १२ नाल अवैध बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
यस्तै, प्रहरी चौकी रामपुरबाट परिचालित टोलीले घोराही उपमहानगरपालिका–२ च्याख्लीघाटस्थित राष्ट्रिय वनको झाडीबाट ८ नाल एकनाले भरुवा बन्दुक बरामद गरेको छ।
यसरी विभिन्न स्थानबाट गरी जम्मा २१ नाल अवैध भरुवा बन्दुक र ४ वटा फलामका छर्रा बरामद भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी. ले जानकारी दिएका छन्।
