बारामा सामाजिक सद्भाव कायम राख्न कलैया र निजगढमा शान्ति र्‍याली, सयौंको सहभागिता

समाचार

बारा, १६ साउन । हाल पूर्वी तराई–मधेशका विभिन्न जिल्लामा विकसित घटनाक्रम र सामाजिक वातावरणलाई मध्यनजर गर्दै बारामा सामाजिक सद्भाव, मेलमिलाप, सहिष्णुता तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार कलैया र निजगढमा छुट्टाछुट्टै शान्तिपूर्ण सद्भाव र्‍याली आयोजना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बाराको आयोजनामा कलैया उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालयको प्राङ्गणबाट बिहान करिब ८ बजे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको अध्यक्षतामा बृहत् सामाजिक सद्भाव र्‍याली सुरु भएको थियो।

र्‍यालीमा विभिन्न धार्मिक संघसंस्थाका अगुवा तथा प्रतिनिधि, विभिन्न धर्मका धर्मावलम्बी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मी, टोल विकास संस्था, गैरसरकारी संस्था, नागरिक समाज, सरकारी कार्यालयका प्रमुख तथा कर्मचारी, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा सर्वसाधारण गरी करिब ३५० देखि ४०० जनाको सहभागिता रहेको थियो।

कार्यक्रमलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन नेपाल प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा ५० जना, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विशाल सिलवालको कमाण्डमा २० जना, नेपाली सेनाका प्रमुख गिरीराज गौतमको कमाण्डमा १० जना तथा प्रदेश ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतको कमाण्डमा १५ जना गरी कुल ९५ जना सुरक्षा कर्मी परिचालन गरिएको बारा प्रहरीले जनाएको छ।

यसैबीच, निजगढ नगरपालिकामा पनि सर्वपक्षीय सद्भाव समूहको आयोजनामा शान्तिपूर्ण सद्भाव र्‍याली निकालिएको छ। बिहान करिब ७ः४८ बजे निजगढ–७ स्थित शहीद चोकमा करिब २०० जना भेला भई सुरु भएको र्‍याली लिचीबोट जाने सडक हुँदै पुरानो सिनेमाहल भएर बुद्धचोकमा पुगेर समापन भएको थियो।

र्‍यालीलाई सुरक्षित र व्यवस्थित बनाउन इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दाताराम अधिकारीको कमाण्डमा २० जना, इलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक बुद्धिमान चोङवाङको कमाण्डमा १० जना तथा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस निजगढका सशस्त्र प्रहरी नायब उपरीक्षक मुरारी अधिकारीको कमाण्डमा १७ जना गरी ४७ जना सुरक्षा कर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै र्‍याली पूर्ण रूपमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएका छन्। हालै सुनसरी लगायत विभिन्न जिल्लामा देखिएका घटनापछि समाजमा आपसी विश्वास, सद्भाव र सहिष्णुता कायम राख्ने सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम आयोजना गरिएको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *