वीरगञ्ज, १६ भदौ । टायर बाली हुलदंगा तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा चार जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ परेका चारै जनालाई वीरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्याउने, हिंसा वा उत्तेजना फैलाउने जो–कोहीलाई कानुनी दायरामा ल्याइने स्पष्ट गरेको छ।
यस्तै, पछिल्ला घटनालाई मध्यनजर गर्दै पर्सा जिल्लाभर सुरक्षा व्यवस्था थप सुदृढ पारिएको प्रहरीले जनाएको छ। शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न नागरिकलाई अफवाहको पछि नलाग्न तथा कुनै पनि उक्साहटपूर्ण गतिविधिमा संलग्न नहुन प्रहरीले आग्रह गरेको छ।
