वीरगञ्ज, साउन १६। पर्साको वीरगञ्ज महानगरपालिका–२ ईदगाहा चोकमा भएको कुटपिट घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ करिब ७:३५ बजे विगतको व्यक्तिगत विवादका कारण वीरगञ्ज–२ निवासी १८ वर्षीय समिर अन्सारीले वीरगञ्ज–१६ इनर्वागाउँ निवासी १८ वर्षीय रञ्जित यादवमाथि हातपात गरेका थिए। घटनामा घाइते भएका यादवको ओठ र नाकमा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले घाइतेलाई तत्काल प्रभु अस्पतालमा उपचारका लागि पठाएको छ। साथै घटनामा संलग्न समिर अन्सारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा सामाजिक तथा धार्मिक सद्भाव खलबल्याउने किसिमका भ्रामक सामग्री प्रकाशित तथा प्रसारित भएको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
प्रहरीले घटनाको सत्यतथ्य अनुसन्धान गरी कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै अपुष्ट र भ्रामक सूचना नफैलाउन तथा धार्मिक र सामाजिक सद्भाव कायम राख्न सबै सञ्चारकर्मी र सर्वसाधारणसँग आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी चक्रबहादुर मल्लले सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
