साम्प्रदायिक सद्भाव भड्काउने ८ जना पक्राउ, कानूनी कारबाही तीव्र

समाचार

काठमाडौं,१५ साउन  । सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको आरोपमा नेपाल प्रहरीले सिराहाबाट ५ जना र धनुषाबाट ३ जना गरी जम्मा ८ जनालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार सामाजिक सद्भाव बिगार्ने, साम्प्रदायिक भावना भड्काउने तथा शान्ति–सुरक्षामा असर पर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानूनी कारबाही अघि बढाइएको छ। यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानूनी दायरामा ल्याइने प्रहरीको स्पष्ट चेतावनी छ।

गत १० साउनको राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको झडपका क्रममा चलेको गोली लागेर एक जनाको मृत्यु भएको थियो। उक्त घटनापछि तराईका विभिन्न जिल्लामा तनावको अवस्था देखिएको छ।

प्राप्त जानकारीअनुसार हालसम्म उक्त घटनासँग सम्बन्धित विभिन्न घटनामा गरी ३ जनाको मृत्यु भइसकेको छ। सम्भावित अप्रिय घटना रोक्न प्रभावित जिल्लाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले नागरिकलाई अफवाहमा विश्वास नगर्न, सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री साझा नगर्न र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *