मकवानपुर ,२५ साउन । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी अगौटेस्थित एक घरबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा सोमबार प्रहरीले उक्त क्षेत्रमा चेकजाँच गर्दा बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको हो।
प्रहरीका अनुसार सिङतानको दुईतले घरको माथिल्लो तलामा रहेको चोटामा राखिएको जेब्रा झोलाभित्र रातो टी–सर्टले बेरेर रातो प्लास्टिकमा लुकाइराखेको अवस्थामा ‘No. 017110’ लेखिएको एक थान पेस्तोल र एउटा म्यागजिन फेला परेको थियो।
बालुवा–सिमेन्टले निर्मित तथा जस्ताले छाएको उक्त घरमा पेस्तोल लुकाएर राखिएको विशेष सूचना प्राप्त भएपछि प्रहरीले चेकजाँच गरेको जनाएको छ।
पेस्तोल बरामद भएसँगै सिङतानलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीले बरामद पेस्तोलको स्रोत तथा त्यसको प्रयोगसम्बन्धी विषयमा समेत अनुसन्धान अघि बढाएको छ।
