नुवाकोटमा हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु,हेलिकप्टर दुर्घटनाको छानविन गर्न समिति गठन

समाचार

काठमाडौं,२३ साउन  । नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-७ सूर्यचौरमा हेलिकप्टर दुर्घटना भएको छ ।

काठमाडौँबाट अपराहन्न १ बजेर १४ मिनेटमा नुवाकोटको स्याफ्रोबेसीको लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो । उडेको तीन मिनेटमै हेलिकप्टर सम्पर्कविहिन बनेको थियो ।

हेलिकप्टरमा क्याप्टेनसहित चार जना विदेशी सवार रहेको बताइएको छ । प्रहरीले हेलिकप्टरमा सवार चार यात्रु र चालकको मृत्यु भएको जानकारी दिएको छ ।

प्रहरीले घटनास्थलबाट चार पुरुष र एक महिलाको शव फेला परेको जनाएको छ । प्रत्यक्षदर्शीले हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको बताएका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

प्रधानमन्त्री ओलीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्का हवाइ दुर्घटना हुनु दुःखद् भएको बताएका छन् ।

 

सरकारले हेलिकप्टर दुर्घटना छानविनका लागि नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका– ७ मा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट थापाको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहेका छन् ।

समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको प्रवक्ता गुरुङले जानकारी दिए ।

 

 

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *