बारामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

समाचार

बारा, २५ साउन ।
बाराको फेटा गाउँपालिका–७ कुकुरभुक्कामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ।

मृत्यु हुनेमा फेटा गाउँपालिका–७ निवासी लक्ष्मी साह तेलीका छोरा १८ वर्षीय गणेश साह तेली रहेका छन्।
बारा प्रहरीले जनाएको अनुसार सोमबार करिब १२ बजे स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना हुने भएकाले भजन बजाउनका लागि स्थानीय महिलाहरूले सामूहिक रूपमा खरिद गरेको स्पिकरको एम्प्लिफायरको तार बोर्डमा जोड्ने क्रममा गणेशलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर गम्भीर घाइते भएका गणेशलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया, बारा लगिएको थियो। अस्पतालमा करिब १२ः३८ बजे ECG परीक्षण गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाबारे अस्पतालमा खटिएको प्रहरी कर्मचारीले दिउँसो १ः०१ बजे इलाका प्रहरी कार्यालय छतवालाई जानकारी गराएपछि प्रहरी नायब निरीक्षक कृष्णनन्दन ठाकुरको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो।

घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *