त्रिभुवन विमानस्थलबाट आएको पार्सलमा थाई गाँजा, भारतीय नागरिकसहित दुई जना पक्राउ

समाचार

काठमाडौं, २८ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पठाइएको पार्सलबाट ३.२ किलो थाई गाँजा बरामद भएको छ। लागुऔषध नियन्त्रण ब्युरोले नियन्त्रणमा लिएर गरिएको ‘कन्ट्रोल डेलिभरी’ मार्फत भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरोलाई थाइल्याण्डबाट काठमाडौं हुँदै भैरहवा जाने शंकास्पद पार्सलबारे साउन २४ गते सूचना प्राप्त भएको थियो। प्राप्त सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सम्बन्धित कुरियरमार्फत आएको पार्सल जाँच गर्दा फेन्सी सामानभित्र लुकाएर दुई वटा पार्सलमा थाई गाँजा पठाइएको फेला पारेको थियो।

त्यसपछि प्रहरीले पार्सलबाट ३.२ किलो थाई गाँजा बरामद गरी पार्सल बुझ्न आउने व्यक्तिलाई पक्राउ गर्न ब्युरोको निगरानीमा ‘कन्ट्रोल डेलिभरी’ सञ्चालन गरेको थियो।
सोही क्रममा साउन २६ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ बाट पार्सल बुझ्न आएका दुई जनालाई पक्राउ गरिएको ब्युरोले जनाएको छ।

पक्राउ पर्नेमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का २३ वर्षीय मनोहर हरिजन र भारत उत्तर प्रदेश राज्यको बस्ती, परसरामपुरका १८ वर्षीय निखिल वर्मा रहेका छन्।

प्रहरीका अनुसार उनीहरूको साथबाट ३.२ किलो थाई गाँजा र दुई थान मोबाइल फोन बरामद भएको छ।
पक्राउ परेका दुवै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *