रोल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु, ८ जना बेपत्ता

समाचार

रोल्पा, २८ साउन ।
रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। घटनामा दुई जना घाइते भएका छन्।

पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।
घटनामा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ।

यसैगरी पहिरोमा परी ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर बेपत्ता भएका छन्।

अविरल वर्षाका कारण पहिरो खस्दा घर तथा गोठ पुरिएको हो। बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको छ। घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा खोज तथा उद्धार कार्य भइरहेको जनाइएको छ।

घटनापछि स्थानीय क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको छ भने थप पहिरोको जोखिमका कारण उद्धार कार्यमा समेत चुनौती देखिएको छ। सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा रहेका स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *