बारा ,२४ भदौ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जको सक्रियतामा ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
मिति २०८३ भदौ २४ गते बिहान करिब ९:३० बजे जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गमा प्रहरीले वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गरेको थियो।
प्रहरी वरिष्ठ नायब निरीक्षक प्रकाशकुमार खत्रीको कमाण्डमा खटिएको चेकिङ टोलीले बसको हुड र्याकमा राखिएका दुईवटा कालो ‘CAT’ लेखिएका क्यारी ब्याग जाँच गर्ने क्रममा Tramadol Hydrochloride Capsules १८ हजार ३ सय पिस फेला पारेको प्रहरीले जनाएको छ।
लागूऔषधसहित पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ बस्ने करिब १९ वर्षीय आनन्द चौरसिया रहेका छन्। प्रहरीले बरामद लागूऔषध र चौरसियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा ल्याएको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चौरसियामाथि लागूऔषध कसूरमा बारा जिल्ला अदालत कलैयाबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले घटनाबारे जानकारी दिँदै लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै लगिएको बताएका छन्।
