कोल्हवीमा लोडेड भरुवा बन्दुकसहित वन्यजन्तुको छाला र चराको चुच्चो बरामद

समाचार

बारा, भदौ २४ । बाराको कोल्हवी नगरपालिका–२ बाँध टोलस्थित एक घरबाट प्रहरीले दुई थान लोडेड भरुवा बन्दुकसहित वन्यजन्तुको जस्तो देखिने छाला र चराको चुच्चो बरामद गरेको छ।

अवैध हातहतियार तथा अन्य सामग्री घरमा लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा बुधबार दिउँसो करिब १२ः३० बजे इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कोल्हवी र कोल्हवी सब–डिभिजन वन कार्यालय, बारासँगको संयुक्त टोलीसहित राम विनोद दास तत्माको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरबाट लोडेड अवस्थामा रहेका दुई थान भरुवा बन्दुक, हरिणको जस्तो देखिने एक थान छाला र धनेश चराको जस्तो देखिने एक थान चुच्चो बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामग्री नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कोल्हवीमा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *