भदौ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ अजय कुमार ठाकुर

समाचार

बारा ,८ असोज । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराले २०८३ साल भदौ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ का रूपमा प्रहरी जवान अजय कुमार ठाकुरलाई घोषणा गरेको छ।

इलाका प्रहरी कार्यालय तारापट्टी, धनुषामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवास, महोत्तरीमा कार्यरत प्रहरी जवान ठाकुरले ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै उनलाई महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो।

कार्यालयका अनुसार ठाकुरले विभागीय मूल्य–मान्यता, आदेश तथा निर्देशनको पालना गर्दै व्यावसायिक लगनशीलता, कर्तव्यनिष्ठा, उच्च मनोबल र साहसका साथ जिम्मेवारी निर्वाह गरेका छन्। उनले सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी विभिन्न योजना निर्माण तथा कार्यान्वयनमा सहयोग गर्नुका साथै ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीमाथि कारबाही र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएका थिए।

उनकै सक्रियताका कारण कार्यरत कार्यालयले तालुक कार्यालयबाट हुने मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्नसमेत महत्वपूर्ण योगदान पुगेको कार्यालयले जनाएको छ।

त्यसैगरी, ठाकुरले अन्य जिल्लाका प्रहरी कार्यालयसँग समन्वय गरी हराएको एक थान मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाउने कार्य समेत गरेका थिए।

स्थानीय बासिन्दा तथा सरोकारवाला निकायसँग समन्वय गरी कार्यालय अगाडि, सीसीटीभी क्यामेरा रहेको स्थानमा पूर्व–पश्चिम राजमार्गतर्फ उच्च क्षमताको एक थान एलईडी बत्ती जडान गर्ने कार्यमा समेत उनले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ।

उनको कार्यसम्पादन, सक्रियता, समन्वय क्षमता तथा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै २०८३ साल भदौ महिनाका लागि ‘BEST TRAFFIC POLICE OF THE MONTH’ घोषणा गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *