पर्सा, १ मंसिर ।
सशस्त्र प्रहरी बल पर्साले लागु औषध नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउँदै १० केजी गाँजा बरामद गरेको छ। जिल्ला पर्सा, जगरनाथपुर गाउँपालिका–१ बिसनपुर्वा क्षेत्रमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल बीओपी पिडारीगुठको टोलीले मिति २०८२।०८।०१ गते बिहान ०९:५० बजे सो परिमाणको गाँजा फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद गरिएको लागु औषधलाई आवश्यक कानुनी प्रक्रियाका लागि सोही दिन अपराह्न २:१५ बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण, पर्साका सूचना अधिकारी सप्रनाउ विश्वराज योन्जनले जानकारी दिए।
लागु औषध नियन्त्रणलाई प्राथमिकताका साथ अघि बढाइएका अभियानका सन्दर्भमा सशस्त्र प्रहरी पर्साका एसपी पुरन चन्द्र भट्टले युवापुस्तामाथि लागु औषधको दुष्प्रभाव बढी भएको बताएका छन्। उनका अनुसार गाँजा तथा अन्य लागू औषधहरूको दुष्प्रभावले कुसंस्कृति, अपराध र सामाजिक विकृति फैलाउँदै समाजलाई नै नकारात्मक दिशातर्फ धकेलिरहेको छ। उनले यसलाई रोक्न सुरक्षाकर्मी थप सतर्कताका साथ खटिएको र सीमा क्षेत्र तथा जोखिमपूर्ण बिन्दुहरूमा निरन्तर निगरानी बढाइएको बताए।
एसपी भट्टले लागु औषधविरुद्ध सशस्त्र प्रहरी बलले सञ्चालन गरेको अभियानलाई निरन्तरता दिँदै तस्करी र अवैध कारोबारमा संलग्न समूहहरूलाई कारबाहीको दायरामा ल्याउन सबै निकायबीचको समन्वयलाई अझ सुदृढ बनाइने बताए।
सशस्त्र प्रहरी बल पर्साको पछिल्ला कारबाहीहरूले जिल्लामा बढ्दो लागु औषध तस्करी नियन्त्रणमा प्रभावकारी योगदान दिएको जनाइएको छ।
