पर्सा, २८ असार।
पर्साको पर्सागढी नगरपालिका–४ स्थित भेडहा खोलाबाट अवैध सालको काठसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ असार २७ गते राति करिब ११:४५ बजे प्रहरी चौकी मिलनचोक, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सोलखपुर तथा सब डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त टोलीले विशेष अभियानका क्रममा उक्त कारबाही गरेको हो।
कारबाहीका क्रममा करिब ६ फिट लम्बाइ र ४ फिट मोटाइ भएका ३ थान सालका काठ, ३ थान साइकल तथा ना.३९ प ५११७ नम्बरको मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा वीरगञ्ज महानगरपालिका–३१ निवासी ४२ वर्षीय सन्दीप कुमार गौरो थारुलाई नियन्त्रणमा लिइएको छ।
बरामद काठ, सवारीसाधन तथा पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धान एवं आवश्यक कानुनी कारबाहीका लागि सब डिभिजन वन कार्यालय, सबैया, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
