बारा ,२ कार्तिक । बाराको परवानीपुर गाउँपालिकामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु भएको छ। परवानीपुर गाउँपालिका–५, नौतन टोल निवासी मनोज साहकी छोरी सन्झना कुमारीको सर्पदंशका कारण मृत्यु भएको हो।
बारा प्रहरीका अनुसार, २०८३ कात्तिक १ गते राति करिब ११:५५ बजे आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा बालिकालाई पहिचान नखुलेको सर्पले टोकेको थियो। सर्पले टोकेपछि बिरामी भएकी उनलाई उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो।
अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा २०८३ कात्तिक २ गते राति १२:२९ बजे बालिकालाई मृत घोषणा गरेका थिए। हाल बालिकाको शव नारायणी अस्पतालमै रहेको प्रहरीले जनाएको छ।
घटनाबारे अस्पतालका प्रहरी कर्मचारीमार्फत इलाका प्रहरी कार्यालय प्रसौनीमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक रामबालक साहको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको बारा प्रहरीले जनाएको छ।
यस दुःखद घटनाले सर्पदंशबाट बालबालिकाको सुरक्षाप्रति थप सचेत हुनुपर्ने आवश्यकता औँल्याएको छ।
