रसीद आलम ,बिरगंज ,२६, चैत ।
पर्सा प्रहरीले लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।पिकअपमा लुकाई छिपाई लगिरहेको अवस्थामा भारी मात्रामा लागु औषध बरामद गरेको जनाएको छ।
भारतबाट वीरगञ्जतर्फ आउदै गरेका सवारीसाधनहरूमा प्रतिबन्धित लागु औषध ओसार पसार कार्य भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको संयुक्त प्रहरी टोलीले चैत २४ गते बेलुका ७:३० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ बोखारचोक स्थित सडकखण्डबाट मधेश प्र.०३-००१ च ७०९८ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा भारी मात्रामा लागु औषध बरामद भएकोले पिकअपसहित दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा वीरगञ्ज म.न.पा.वडा नं.२० बस्ने वर्ष २१ को विष्णु पटेल र सोही बस्ने वर्ष २० को राजन यादव रहेको प्रहरीले जनाएको छ।
उक्त पिकअपमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले वेरिएर राखिएको अवस्थामा प्रतिबन्धित लागु औषध नुरफिन-१२०० पिस, फेनारगन-१२०० पिस, डाइजेपाम-१२०० पिस, अनरेक्स १०० एम एल ५० बोत्तल, टापेन्टाडोल १०० एमजी ट्याब्लेट ३९ पत्तामा ३९० पिस ट्याब्लेट फेला परेको हुँदा पिकअप , लागु औषध सहित ब्यक्तिहरुलाई निन्यन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) केशर कुमार न्यौपानेले जानकारी दिए।
