रसीद आलम,बिरगंज ,६ असोज ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी ईनर्वाले बिरगंज -१६ नगवाका सुरेश यादवका छोरा वर्ष -१८ का सुजन यादवलाई लागु औषध चरेस सहित नियन्त्रणमा लिएको छ।
ईनर्वा चौकीका प्रहरी नायब निरीक्षक अजय कुमार रामको कमान्डमा खटिएका टोलिले असोज ६ गते बिहान् ८:४० बजेको समयमा चेकजाँचको क्रममा बिरगंज -१६ शंकराचार्य गेट अगाडिबाट यादवलाई ८ केजी १०२ ग्राम चरेस सहित पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ।

बिरगंजबाट भारतको रक्सौलतर्फ गैरहेको अवस्थामा निजलाई चेकजाँच गर्दा कालो झोलामा लुकाई छिपाई लगिरहेको अवस्थामा सो परिमाणको चरेस बरामद गरिएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए।
निज यादवलाई नियन्त्रणमा राखी लागू औषध सम्बन्धि मुद्दामा थप अनुसन्धान भैरहेको डिएसपी भारतीले जानकारी गराएका छन् ।
