बिरगंज ,१४ मंसिर ।
पर्सा जिल्लाको जिराभवानीपुर–१ स्थित बलुवा सिमानाका तस्करीको केन्द्रबिन्दु बनेको छ। भारतको बिहार भङ्गहा र नेपालको बलुवा नाकामार्फत मिठा (गुड़), चिनी, किराना सामान, रक्सी, भैंसीलगायतका वस्तुको तस्करी व्यापक रूपमा भइरहेको छ।
खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले लाखौं मूल्य बराबरका सामग्री दैनिक रूपमा नेपालतर्फ भित्र्याउने गरेको स्रोतले जनाएको छ। तस्करीमा पासपत चौधरी, सुनिल कुमार, बिरेन्द्र साह, कृष्ण कुमार, विपिन, अक्षय कुमार, ध्रुप, जितेन्द्र साहलगायतको संलग्नता रहेको आरोप स्थानीयहरूले लगाएका छन्।
स्रोतका अनुसार, नाकामा खटिएका स्थानीय सुरक्षाकर्मीहरूलाई प्रति मोटरसाइकल १०० रुपैयाँ र प्रति साइकल ५० रुपैयाँ नजराना दिएर मालसामान भित्र्याउने गरिन्छ। साथै, प्रहरी चौकी र सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी) का प्रमुखहरूलाई मासिक ४ देखि ५ हजार रुपैयाँसम्मको आर्थिक प्रलोभन दिएर तस्करीलाई सहज बनाइएको बताइएको छ।
यस नाकामा रहेको प्रहरी चौकी महादेवपट्टी र सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट महादेवपट्टीमाथि पनि प्रभावकारी निगरानीको अभाव रहेको स्थानीयहरूको गुनासो छ। तस्करी नियन्त्रण गर्न सुरक्षा निकायको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक देखिन्छ।
सो सम्बन्धमा प्रहरी चौकी महादेवपट्टीका प्रहरी सहायक निरीक्षक होमबहादुर माझीसंग फोन सम्पर्कमा “पहिला ती तस्करहरु केही मालसामान लुकिछिपी लगिरहेको अवस्था थियो तर हाल सबै नियन्त्रणमा छ ” बताएका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट महादेवपट्टीका सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र सिंह बिष्टसंग फोन सम्पर्क गर्दा फोन उठाउनु भएनन् ।
