बारा, ७ पुष ।
बारा जिल्लाको पथलैया क्षेत्रमा प्रहरीले ६१ लाख ७२ हजार ११९ रूपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको छ।
पथलैया प्रहरी चौकीबाट प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा बिलभरपाईभन्दा बढी र स्रोत नखुलेको सामान फेला पारेको हो।
फेला परेको सामान विवरण
मिति २०८१ पुष ४ गते राति ९:०० बजे बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका-१, पथलैया चोकमा वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको ना ७ ख १३१० नम्बरको ट्रकमा अन्दाजी १० लाख २० हजार ४८२ रुपैयाँ मूल्य बराबरको धनिया, जिरा, खुर्सानी, बदाम लगायत अन्य खुद्रा सामान फेला परे।
त्यस्तै, राति ९:३० बजे विराटनगरबाट रुपन्देहीतर्फ जाँदै गरेको प्र.०१-०२-००१ ख ८०७३ नम्बरको ट्रकमा लोड गरिएको साइकलबाटको पार्टपुर्जा, अबीर, धनिया, मर्चा, जिराको पाउडर, बिस्कुट लगायत अन्दाजी ५१ लाख ५१ हजार ६३७ रुपैयाँ बराबरको समान बरामद गरिएको छ।
प्रहरी निरीक्षक तथा बारा प्रहरीका निमित्त सूचना अधिकारी बलराम श्रेष्ठका अनुसार, नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाइएको छ।
