भक्तपुर, ९ पुस ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका अभियुक्त पक्राउ परेका छन्। खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–१ स्थायी घर भई हाल बालकोट बस्दै आएका वर्ष ५६ का कुलप्रसाद आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रविन आचार्यलाई आफ्नै घरमा मृत अवस्थामा फेला पारिएको थियो।
वारदातको दिनदेखि फरार रहेका मृतकका जेठा छोरा २६ वर्षीय मिलन आचार्यलाई प्रहरीले काठमाडौँको महाराजगञ्जस्थित भाटभटेनीबाट पक्राउ गरेको हो। उनी कालो झोला बोकेर हिँडिरहेको अवस्थामा फेला परेको प्रहरी वृत्त महाराजगञ्जको टोलीले जनाएको छ।
पक्राउ परेका मिलनले आफ्नो बुबा र भाइको हत्या गरेको स्वीकार गरेका छन्। घटनाको थप अनुसन्धानका लागि उनलाई प्रहरी वृत्त ठिमी, भक्तपुरमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिएका छन्।
