बाँके,९ पुस ।
जमिनमुनि सुन निकालिदिने बहाना बनाई दुई करोड रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। बाँके जिल्ला, नेपालगञ्ज उपमहानगरपालिका–१९ मोहनपुरस्थित ईट्टाभट्टामा जमिनभित्र सुन रहेको र निकालिदिने प्रलोभनमा भारत, उत्तर प्रदेश बलरामपुर सिहपुरीका ४२ वर्षीय सदाबुद्दिन हलवाईले नसिर अहमद बेहेनालाई पटक–पटक गरेर नगद दुई करोड रुपैयाँ ठगी गरेका थिए।
ठगीको उजुरीका आधारमा बाँके प्रहरीले पुस ५ गते नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्कबाट उनलाई पक्राउ गरेको हो। बाँके जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको छ।
बरामद सामग्रीहरुः
तीनवटा माटोका घैटो, जसमा पहेँलो धातुबाट बनेका १०४९ सिक्का
तीनवटा पितलका घैटो
धातुले बनेको पुरानो जस्तो देखिने चेन
धातुको गणेशको मूर्ति
विभिन्न आकारका ६०० पत्तर
धातुबाट बनेका तीनवटा डिब्बा
लेदरको झोलामा राखिएको तावीजसहितको डिब्बा
उर्दू भाषामा लेखिएको पुस्तक
भारतीय नम्बरको सिल्भर कलरको अल्टो कार (UP 32PP6110)
नेपाल र भारतीय बैंकका चेक तथा भौचरहरू
प्रहरीले बरामद सामग्रीसहित आरोपीलाई कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी दिएका छन्।
