बारा,११ पुस ।
बारा प्रहरीले बारा जिल्लाका दुई स्थानबाट ६७ लाख ९६ हजार २९ रुपैयाँ बराबरका अवैध सामानसहित दुई ट्रक नियन्त्रणमा लिएको छ। बिल भरपाईभन्दा बढी र सामानको स्रोत नखुलेपछि ती सामानहरू राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाइएको छ।
बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार २०८१/०९/११ गते १:३० बजेको समयमा इलाका प्रहरी कार्यालय अमलेखगंज बाराबाट प्र.ब.ना.नि. टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगंज चोकमा वीरगंजबाट रुपन्देहीतर्फ जाँदै गरेको लु १ ख ९५१४ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा ३१ लाख ८२ हजार ६० रुपैयाँ बराबरका प्लास्टिक झोला, वॉटर हीटर, औषधि, इलाइची र अन्य खुद्रा सामान फेला परेको छ।
त्यस्तै ,मिति २०८१/०९/१० गते १०:१५ बजेको समयमा
प्रहरी चौकी पथलैया बाराबाट प्र.ब.ना.नि. रोशन अधिकारीको नेतृत्वमा खटिएको टोलीले जीतपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकमा वीरगंजबाट रुपन्देहीतर्फ जाँदै गरेको ना ५ ख ७०५२ नम्बरको ट्रकलाई रोकी जाँच गर्दा ३६ लाख १३ हजार ९ सय ६९ रुपैयाँ बराबरका हार्डवेयर सामान, मोटर पार्ट्स, डाइवेयर वाइल, कल्क लगायत अन्य खुद्रा सामान बरामद गरेको छ।
प्रहरीले दुवै ट्रकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया, बारामा बुझाएको जनाएको छ।
