काठमाडौं,२२ पुस । प्रहरी निरीक्षकको पहिचान बनाएर ठगी गरेको आरोपमा काठमाडौं कागेश्वरी मनहरा नगरपालिका-७ थापा चोकका ३८ वर्षीय सुदीप थापालाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले शनिबार थापा चोकबाट उनलाई पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार थापाले आफू प्रहरी निरीक्षक भएको भन्दै क्यानडा र अस्ट्रेलियामा पठाइदिने आश्वासनमा ठगी गरेका थिए।
थापाले प्रहरी निरीक्षकको पोशाकमा खिचिएका फोटोहरू प्रयोग गरी उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढाएका थिए। उनीसँग नक्कली परिचय पत्र र बर्दी लगाएको चार वटा फोटो समेत फेला परेको छ।
थापाको साथबाट प्रहरीले विशेष बढुवा सिफारिस सूची प्रकाशित गरिएको नक्कली पत्र पनि बरामद गरेको छ। यसै घटनामा संलग्न कोटेश्वर-३२ स्थित मार्सल प्रिन्टिङ प्रेसका सञ्चालक किशोरकुमार चौधरीलाई समेत पक्राउ गरिएको छ।
दुबैजनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि आइतबार जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रहरीले जानकारी दिएको छ।
