बारा, २९ माघ ।
लागू औषध मुद्दामा एक वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अम्लेखगञ्ज, बाराबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमान्डमा खटिएको प्रहरी टोलीले सोमबार विशेष खोजी अभियान सञ्चालन गर्दै फरार प्रतिवादी बुद्ध तमाङलाई पक्राउ गरेको हो।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–२१ का २५ वर्षीय तमाङलाई लागू औषध सम्बन्धी मुद्दामा अदालतले दोषी ठहर गर्दै एक वर्ष कैद र जरिवाना तोकेको थियो। तर, सजाय भुक्तान नगरी उनी फरार रहेका थिए।
प्रहरीले उनलाई लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रकाश सापकोटाले जानकारी दिए।
