पर्सा, फाल्गुन ९ ।
जनमत पार्टी, पर्साले ठोरी गाउँपालिका-५, सुवर्णपुरस्थित कलस क्याटल (गाई फार्म) मा रहेका गाईहरूको संरक्षणका लागि जिल्ला प्रशासन कार्यालय, पर्सामा ध्यानाकर्षण गराएको छ।
उक्त गाई फार्मका सञ्चालकहरूबीचको आपसी विवादका कारण करिब २ सयभन्दा बढी गाईहरूलाई आवश्यक खाना, पानी, उपचार र हेरचाहको अभावमा बिरामी हुने र मर्न सक्ने खतरा रहेको जनाउँदै जनमत पार्टीले प्रशासनको ध्यानाकर्षण गराएको हो।
जनमत पार्टी, पर्साका अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई भेटी समस्या समाधानका लागि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको छ।

जनावर संरक्षण र गाईलाई जीवनदान दिनु सबैको कर्तव्य भएको बताउँदै पार्टीले प्रशासनलाई प्रभावकारी पहल गर्न अपील गरेको छ।
ध्यानाकर्षण बुझाउने टोलीमा जनमत पार्टीका नेताहरू राजेश चौरसिया, महादेव शर्मा, राजनारायण मिश्र, संजय सिंह, नरेश राम, सिकेन्द्र राम, किसुनदेव यादव, लोकेश कर्ण, निकेश महतो, पवन कुमार, हिरालाल रामलगायत सहभागी थिए।
