बारा, फागुन १२।
विशेष सूचनाका आधारमा बारा प्रहरीले दुई फरक स्थानबाट गरी २६.९ किलो लागू औषध गाँजासहित ४ जनालाई नियन्त्रणमा लिएको छ।
पहिलो घटनामा, आइतबार बिहान करिब ८:३० बजे प्रहरी चौकी पथलैयाबाट प्र.ब.ना.नि. रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका–१ पथलैया चोकमा नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको बा ४ ख ७५१७ नम्बरको यात्रुबाहक बस चेकजाँच गर्दा २१ किलो गाँजासहित ३ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूमा मकवानपुर, राक्सिराङ गाउँपालिका–१ हाँडिखोलाका ४० वर्षीय अर्जुन रूम्बा (२ वटा पोका गाँजा), ३४ वर्षीय राजु लामा (१ वटा पोका गाँजा) र ३१ वर्षीय प्रदिप मोक्तान (१ वटा पोका गाँजा) रहेका छन्।
त्यसैगरी, दिउँसो करिब १:५० बजे इलाका प्रहरी कार्यालय अमलेखगंजबाट प्र.ब.ना.नि. टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप-महानगरपालिका–२१ अमलेखगंज चोकमा शंकास्पद लागेका एक पैदल यात्रीलाई जाँच गर्दा उनको साथबाट ४.९ किलो गाँजा बरामद गरेको छ।
नियन्त्रणमा लिएका व्यक्ति पर्सा, वीरगंज महानगरपालिका–१८ ईनर्वा मैनालीका २१ वर्षीय राजकिशोर कुर्मी हुन्।
प्रहरीले नियन्त्रणमा लिएका सबै अभियुक्तहरूविरुद्ध लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
