मकवानपुर, फागुन १२।
मकवानपुर प्रहरीले सानो हतियार तथा गोलीसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
आइतबार दिउँसो करिब ३:४५ बजे प्रहरी चौकी रातोमाटे र अस्थायी प्रहरी पोस्ट हरियालीबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा ना ८ ख ८७७३ नम्बरको यात्रुबाहक बसबाट उनीहरूलाई पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा गरिएको जाँचका क्रममा गौरबाट चितवनतर्फ जाँदै गरेको बसमा सवार भारत, बिहार राज्य, सिहुहर जिल्लाको धनहरा ग्राम निवासी २२ वर्षीय धिरज कुमारको कम्मरमा लोड गरिएको १ राउन्ड गोलीसहितको 9MM अटो पेस्तोल फेला परेको थियो। साथै, थप २ थान गोली समेत बरामद गरिएको छ। प्रहरीले निजसँगै बसिरहेका भारत, बिहार राज्य, मोतिहारी जिल्लाको बहरी ग्राम निवासी २६ वर्षीय दीपक कुमारलाई समेत पक्राउ गरेको छ।
पक्राउ परेका दुवै जनालाई हतियारसहित नियन्त्रणमा लिई उनीहरूमाथि आवश्यक अनुसन्धानका लागि मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ६ दिनको म्याद अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
