प्रधानमन्त्री ओलीद्वारा साहित्यकार क्षेत्रीको निधनप्रति शोक व्यक्त

समाचार

काठमाडौं ,१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन भएको खबरले आफूलाई पीडा भएको बताउँदै उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।

दिवङ्गत श्रष्टाप्रति सामाजिक सञ्जाल फेसबुकबाट श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त उनका परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ एवं दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले लेखेका छन्-

लबहादुर क्षेत्रीको ‘बसाइँ’ उपन्यासले कुनै समय क्यम्पस पढ्ने हरेक विद्यार्थीको मुटु छुन्थ्यो । उहाँका ‘बसाइँ” र अन्य उपन्यासले दोस्रो विश्वयुद्धताका नेपालबाट सिङ्गै गाउँहरू नै सिक्किम, असम, मेघालय र भुटानतिर बसाइँ सर्न बाध्य भएको पीडाको वर्णन गर्छन् । भारतको प्रतिष्ठित ‘साहित्य अकादमी पुस्कार’बाट सम्मानित उहाँको ‘ब्रम्हपुत्रको छेउछाउ’ उपन्यासले पनि पूर्वाेत्तर भारतका नेपालीको संघर्षको कथा भन्छ । उनै ख्यातिप्राप्त साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको खबरले पीडा भएको छ । दिवंगत लीलबहादुर क्षेत्रीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, साहित्यानुरागी दाजुभाइ–दिदीबहिनीमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

साहित्यकार क्षेत्रीको ९३ वर्षको उमेरमा गएराति आसामको राजधानी गुवाहाटीमा निधन भएको हो ।

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन:

साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो ।

‘बसाइँ, अतृप्त र बह्मपुत्रको छेउछाउ’, उपन्यास, ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ निबन्ध सङ्ग्रह उपन्यासका साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गरेका उनी जगदम्बाश्री पुरस्कारबाट सम्मानित रहेका थिए ।

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उनलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *