बारा, १ चैत ।
बारा प्रहरीले विशेष सूचनाको आधारमा १३ किलो लागू औषध गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ।
बुधबार बिहान करिब ८:१५ बजे जितपुरसिमरा उपमहानगरपालिका–३, बजनीस्थित वीरगंज–पथलैया सडकखण्डमा अस्थायी प्रहरी पोष्ट रामबनबाट प्रहरी वरिष्ठ हवल्दार दिलीप कुमार सिंहको कमाण्डमा खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ८ ख ६०६१ नम्बरको यात्रुबाहक माइक्रोबसलाई जाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीले सो माइक्रोबसमा सवार एक महिलासँग रहेको दुई वटा बोरामा १३ किलो गाँजा (२ पोका) फेला पारेको थियो। पक्राउ परेकी महिला मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका–१ की ५० वर्षीया सुशिला गोले रहेको खुलेको छ।
बरामद लागू औषधसहित पक्राउ परेकी महिलामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
